मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीको जिम्मामा

सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीको जिम्मामा

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।

४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो ।

२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।

सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।