शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सुन तस्करी प्रकरणमा कर्मचारी पक्राउ परेपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

सुन तस्करी प्रकरणमा कर्मचारी पक्राउ परेपछि विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

 

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।

आजदेखि घोषणा गरिएको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ । आज सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरिएको छ ।

उनीहरुले सार्वजनिक गरेको विरोधका कार्यक्रमबारे विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी दिएका छन् । २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुले पेश गरेको मागपत्रमा उल्लेख छ ।

‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ,’ मागपत्रमा भनिएको छ,‘यस सम्वन्धमा बिरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ ।’

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।