शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

प्रचण्डले मिलाए अखिल क्रान्तिकारीको विवाद

प्रचण्डले मिलाए अखिल क्रान्तिकारीको विवाद

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको करिब दुई वर्षदेखिको विवाद समाधान भएको छ । अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा भएको छलफलपछि विवाद समाधान भएको विद्यार्थी इन्चार्ज हिमाल शर्माले बताए । यो सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा सहभागी भएका नेताका अनुसार रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरू सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।

पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ । हाल ४१ पदाधिकारी रहेकोमा रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्य पदाधिकारी बन्दा यो संख्या ठूलो हुनेछ ।

महाधिवेशनमा नेतृत्वले जबर्जस्ती पदाधिकारी चयन गरेको भन्दै पवन कार्की नेतृत्वमा अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी क्रियाशील थियो ।

पार्टीभित्रकै नेताहरूको समेत पवन कार्कीलाई समेत समर्थन रहेकाले नेतृत्वले उनीहरूमाथि कारबाही समेत गर्न सकेको थिएन । अब आयोजक कमिटीमा सबैलाई समेटेर महाधिवेशनमा जाने सहमति भएको हो ।

प्रधानमन्त्रीको रोहबरमा भएको सहमतिको बेला जनवर्गीय संगठन इन्चार्ज पम्फा भुसाल,उपमहासचिव वर्षमान पुन,विद्यार्थी इन्चार्ज हिमाल शर्मालगायतका नेताहरूको समेत उपस्थित थिए ।