शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

यस्तो छ ६० किलो सुन तस्करीको नालीबेली

यस्तो छ ६० किलो सुन तस्करीको नालीबेली

काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यले २७ नेपाली र २३ जना विदेशीलाई प्रतिवादी बनाउन राय दिइएको जानकारी दिइन् । उनका अनुसार यो प्रकरणमा फेरि अनुसन्धान हुन सक्ने छ र प्रतिवादीहरू बढ्न सक्नेछन् ।

प्रहरीले बरामद भएका खाली ब्रेक प्याडमा समेत सुन आएको थियो भन्ने अनुमान गरेर बिगो कायम गरेको छ । ६०.७१६ केजी सुन बरामद भएपनि ३६२.७७८ केजी सुन तस्करी भएको यकिन गरेर सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो माग गर्न राय दिएको छ । खाली बरामद भएका एक हजार एक सय ८० सेट ब्रेक प्याडमा राखेर ३०२.०६२ केजी सुन ल्याएको अनुमान सीआईबीको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन विमानस्थलबाहिरबाट ब्रेक सुभित्र सुन रहेको आशंकामा भन्सार पास भएर बाहिरिएको सामानलाई नियन्त्रणमा लिएको थियो। ब्रेक सुमा राखिएको सुन पछि जोख्दा ६० केजीभन्दा बढी रहेको पाइएको थियो ।

१९ दिनसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेकामा पछि सरकारले निर्णय गरेर अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । घटनाका अनुसन्धानमा सीआईबीले ४२ जना प्रहरीलाई विभिन्न समूहमा बाँडेर खटाएको थियो ।

सीआईबीका अनुसार चिनियाँ गिरोहले भन्सारको सामानमा राखेर संगठितरुपमा नेपालमा सुन तस्करी गर्ने गरेका थिए ।

सीआईबीका एसपी संजयसिंह थापाले चिनियाँ गिरोहले नेपालमा ७ वटा कम्पनी खोलेर विद्युतीय सामानहरू आयात गर्ने गरेको जानकारी दिए । नेपालीहरूका नाममा कम्पनी खोलेर विद्युतीय सामग्री ल्याउने नाममा त्यसभित्र सुन राख्ने गरिएको उनले बताए ।

‘तीमध्ये ६ वटा कम्पनीले भन्सार पास गरेर सामान भित्र्याएको देखिन्छ भने एउटा कम्पनीको सामान मात्र पास नभएको देखिएको छ’, एसपी थापाले भने । उनले सुन आयात व्यवस्थापन र विक्री वितरणका लागि हङकङदेखि नेपालसम्म विभिन्न समूहहरू रहेको बताए ।

राजस्व अनुसन्धान विभागले मिसिल जिम्मा लगाउँदा थुप्रै काम बाँकी रहको बताउँदै अहोरात्रको अनुसन्धानले नयाँ तथ्यहरू फेला पर्दै गएको पनि उनले बताए ।

‘सुन हङकङबाट आउने गरेको देखिएको छ । नेपालमा भन्सार पास भइसकेपछि बालुवाटारको गोदाममा लगेर राख्ने तथा लाजिम्पाट र टोखामा रहेका सुन गाल्ने ठाउँमा पुर्‍याएर सुन छुट्याउँदै बिस्कुट बनाएपछि बजारसम्म पुर्‍याउने गरिएको देखिन्छ’, एसपी थापाले भने । प्रहरीका अनुसार गिरोहले नेपालमा सुन गाल्न १० वटा मेसिन राखेको भेटिएको छ ।

प्रहरीका अनुसार भन्सारको सामानमा सुन राखेर ल्याउन विभिन्न गरिब नेपालीलाई प्रलोभनमा पारेर उनीहरूका नाममा गिरोहले कम्पनी खोलेको थियो ।

‘विद्युतीय उपकरणहरू, ब्रेक सु, इलेक्ट्रिक वाचलगायतका उपकरणहरू नेपालमा भित्र्याउने र सुरुमा ट्रायलका रूपमा एक दुई कार्टुनहरू ल्याउने गरेको देखियो’, अनुसन्धान अधिकृत थापा भन्छन् । त्यही ट्रायलमार्फत भन्सारको प्रक्रिया र सुरक्षा चुनौतीहरूलाई गिरोहले हेर्ने र बुझ्ने गरेको अनुसन्धानका क्रममा पाइएको छ ।

सीआईबीले बरामद भएको ब्रेक प्याड र त्यसलाई ल्याउने कम्पनीसँग सम्बन्धित विषयमा मात्र अनुसन्धान भएको र अन्य ६ वटा कम्पनीले ल्याएका सामान र ती कम्पनीमाथि अनुसन्धान बाँकी रहेको जनाएको छ । ‘अन्य ६ कम्पनी र उनीहरूले ल्याएका सामानमाथि अनुसन्धान ओपन छ’, थापाले भने ।

उनले चिनियाँ गिरोहको माथिल्लो तह हङकङमा बस्ने गरेको र विभिन्न तहहरू सृजना गरी तस्करी हुने गरेको बताए । माथिल्लो तहका व्यक्तिहरू नेपालमा आउने जाने समेत गर्ने गरेको सीआईबीको भनाई छ ।

हङकङमा रहेका तीनवटा कम्पनीमार्फत गिरोहले ब्रेक प्याड पठाएको पाइएको छ । लिन भन्ने चिनियाँ नागरिकसहितका व्यक्तिले ती कम्पनीमार्फत क्यारियर ग्लोबल लजिस्टिक नामक हङकङमा रहेको कार्गोबाट नेपालमा उक्त सामान पठाएका थिए ।

यसरी आइपुगेको सामान लाजिम्पाट र टोखामा रहेको गाल्ने काराखानामा पुर्‍याउन नेपालीलाई एयरपोर्ट पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । चिनियाँ गिरोहले भारतीय नागरिक थुप्डेन छिरिङलाई सामान आएको बारे जानकारी दिएर रिसिभका लागि मान्छे पठाउन लगाएको पाइएको छ ।

प्रहरीका अनुसार थुप्डेनले नेपालमा कम्पनी दर्ताका लागि नेपालीहरू खोज्नेदेखि घर भाडा लिनेसम्मको काममा मुख्य गिरोहलाई सहयोग गरेको दाबी गरिएको छ ।

सीआईबीका अनुसार एयरपोर्टबाहिर ब्रेक सु नियन्त्रणमा लिँदा थुप्डेनले हर्कराज राई नाम गरेका नेपालीलाई सामान लिन एयरपोर्ट पठाएका थिए । राईले पूर्व भन्सार एजेन्ट राजेन्द्र राईसँग मिलेर उक्त सामान भन्सार पास गरेर बाहिर निकाल्ने काममा खटिएको अनुसन्धान अधिकृत थापाले भने ।

गोदामबाट निकालेर भन्सार पास नहुँदासम्म विभिन्न चरणमा त्यसको जाँच हुने गर्छ । यसरी जाँच भएर बाहिर निस्किएको सामानलाई राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएर परीक्षण गरेको थियो ।