शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आनन्दवन अस्पतालको सडकको दुराबस्था, प्रशासन भन्छः बजेट थोरै छ

आनन्दवन अस्पतालको सडकको दुराबस्था, प्रशासन भन्छः बजेट थोरै छ

काठमाडौं । 
ललितपुरको आनन्दवन अस्पताल जाने सडकको अबस्था अत्यन्तै खराब बनेको छ । ठाडो उकालो त्यसमाथि पनि सडक बिग्रिएर बनेका खाडलका कारण त्यहाँ पुग्ने बिरामीले सास्ती खेप्नु परेका छन् । सडकको अबस्था यस्तोसम्म बिग्रिएको छ कि, त्यहाँ विरामी बोक्ने एम्बुलेन्स समेत गुडाउन अप्ठेरो अबस्था छ । सडकमा आवतजावत गर्न समेत मुस्किल बनेको छ । यही सडकमा अस्पतालको कर्मचारी लडेर घाइते समेत भएका छन् । 

उनी मात्रै होइनन् विरामी हेरेर घर फर्केका एक जना स्थानीय त्यही अघिल्लो हप्ता लडेका थिए । यस्तै सडकको खराब अबस्थाका कारण दैनिक जस्तो सवारी दुर्घटना बढिरहेको छ । पछिल्लो समय दुर्घटनाका ७ घटना त्यही अस्पताल जाने सडकको दुरावस्थाका कारण घटेको एक स्थानीयले बताए । 

बिगत तीन वर्षदेखि यस्तै दुरावस्था भोग्दै आईरहेको अस्पतालका एक कर्मचारीले बताए । ‘अस्पतालको सडक ३ वर्षदेखि जस्ताको त्यस्तै छ । बनाउनुको सट्टा उल्टै बाटो झनै खराब हुँदै गईरहेको छ । सडकमा आउन जान मुस्किल छ । एम्बुलेन्स समेत चढाउन अप्ठेरो छ ।’, ती कमचारीले भने,‘सडकमा धेरै मान्छे लडिसकेका छन् । अस्पताल प्रशासनलाई जत्ति भने पनि वास्ता छैन । किन हो बाटो त बन्नु पर्ने हो ।’

वर्षाैदेखि बाटो मर्मत नगर्नुको पछाडि प्रशासनको केही खोट रहेको ति कर्मचारीले बताए । यस विषयमा अस्पताल प्रशासन प्रमुख शेरबहादुर गुरुङले बजेट नभएकाले बाटो मर्मत गर्न नसकेको दाबी गरे । ‘हामीसँग थोरै बजेट हुन्छ । सडकको लागि भनेर थोरै बजेट छ । त्यहीबाट मर्मत गर्ने हो । हामीलाई दबाब पनि छ । चाँडै सडक मर्मतमा लाग्छौँ ।’, उनले भने ।  आइसियु सहितको सुविधा सम्पन्न ट्रमा सेन्टर सञ्चालन गर्ने सोच राखेको अस्पतालको सडक भने समयमै मर्मत नगर्दा कर्मचारीदेखि बिरामीले समेत प्रशासनको तिब्र आलोचना गरिरहेका छन् ।