मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

गैह्रीगाउँ हत्या प्रकरणः छानबिनका लागि ५ सदस्यीय समिति गठन

गैह्रीगाउँ हत्या प्रकरणः छानबिनका लागि ५ सदस्यीय समिति गठन

 

काठमाडौंः काठमाडौंको गैह्रीगाउँमा भएको चार जनाको हत्या प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

‘एउटा समिति गठन गरेर अघि बढेको छ। सबै कोणबाट अनुसन्धान सुरु भएको छ,’ उनले भने।

मैनालीका अनुसार समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन्।

गएराति काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो। 

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार यस घटनाको बारेमा बेलुका साढे ११ बजे प्रहरीले खबर पाएको थियो। घटनास्थलबाट दीपेन्द्र राईलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। उनी सोही मिलका कामदार हुन्।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन्। 

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पाइएको छ।