शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

तीनकुने सामूहिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक

तीनकुने सामूहिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो । स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्दै आएका थिए ।

उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘तपाईंहरु अहिले पनि कपडामा लागेका रगतका छिटाहरु देख्न सक्नुहुन्छ’, एसएसपी राठोरले भने ।

केही दिन अघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए ।

भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको खुलेको छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले जानकारी दिए ।

घटनापछि पनि उनी दिदिभिनाजुकैमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्न सक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।