शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

शेखर कोइरालाले डाके कांग्रेस संस्थापनइतर पक्षको बैठक

शेखर कोइरालाले डाके कांग्रेस संस्थापनइतर पक्षको बैठक

काठमाडौं । 
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ। नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका हुन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।

०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए। थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए।

कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन्। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

यसअघि गत साउन २ मा बसेको केन्द्रीय समिति बैठकअघि कोइरालाले आफू पक्षको छुट्टै भेला गरेका थिएनन्। त्यसबेला सभापति शेरबहादुर देउवासँग मिलेको आरोप कोइरालामाथि लागेको थियो। तर कोइरालाले आफू कसैसँग नमिलेको प्रष्टीकरण दिएका थिए।