शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

१०३ एन्टिबायोटिक औषधि प्रयोग नगर्न आग्रह

१०३ एन्टिबायोटिक औषधि प्रयोग नगर्न आग्रह

औषधि व्यवस्था विभागले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई आग्रह गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिक औषधिको न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि प्रयोगमा नल्याउन आग्रह गरिएको बताए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिश गरेको छैन।

“डब्लूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका एन्टिबायोटिक औषधिको सूची प्रकाशन गरेको छ,” ढकालले भने, “ती औषधि न दर्ता गर्छौं न त प्रयोगका लागि अनुमति नै दिन्छौं।”

उनका अनुसार १०३ मध्ये १३ प्रकारका एन्टिबायोटिक औषधि भने दर्ता गरिएका छन्। एन्टिबायोटिकलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिशमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्नरनगराउन निर्देशन दिएको बताए।

विभागमा दर्ता भएका र नभएका तथा डब्लूएचओबाट सिफारिश नगरिएका एन्टिबायोटिक औषधिको सम्मिश्रण र सो औषधिको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ दर्ता, थप नयाँ पैठारी दर्ता र पैठारी सिफारिश प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधिको सम्मिश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्रीवितरण प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र, पैठारी सिफारिशपत्र नवीकरण नगर्ने निर्णय गरिएको छ।

यस्तै, विभागमा दर्ता भएका १३ प्रकारका एन्टिबायोटिक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महीनासम्म मात्र बिक्रीवितरण गर्न दिने विभागका महानिर्देशक ढकालले बताए।