शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

टोपबहादुरले माओवादी छाडेकाले प्रतिशोध लिइयो, सुन तस्करी गर्ने माओवादीहरूलाई उन्मुक्ति छः ओली

टोपबहादुरले माओवादी छाडेकाले प्रतिशोध लिइयो, सुन तस्करी गर्ने माओवादीहरूलाई उन्मुक्ति छः ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको भन्दै अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् ।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए ।

ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए ।

ओलीले भने– टोपबहादुर रायमाझीको दोष के हो ? हेलिकोप्टरमा फोटो खिच्दैमा दोषी हुन्छ ? त्यसो हो भने त मसँग दिनमा एक सयदेखि दुई सय जनाले फोटो खिच्छन् । कार्यक्रममा फोटो खिच्छन् । फोटो खिच्ने मान्छेले गोदान गर्‍यो भने त्यसको पुण्य मैले पाउने हो ? उसले बदमासी गरे म दोषी हुन्छु ? यो त टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । नत्र साढे ९ किलो सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने सरकारले फोटो खिचेको आधारमा थुन्ने ? सरकारको आलोचना गरेका कारण कांग्रेसको सांसद सुनिल शर्मालाई थुन्ने सरकारले क्वीन्टल सुन बोक्ने माओवादी नेताहरूलाई बयानसमेत लिएन ।

ओलीले अदालतमा गइसकेको विषय भएकाले मात्र रायमाझीको बारेमा आफूले मौनता साँधेको बताए ।