शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चिनियाँ समकक्षीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

चिनियाँ समकक्षीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्थानीय समयअनुसार बिहान ११ बजे भेटवार्ता सुरू भएको हो । 

दुईजनाबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ। भेटमा बीआरआईसम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल भएको छ ।

चिनियाँ अनुदानमा परियोजना निर्माण, नेपालमा लगानी, सीमा जोड्ने सडक विस्तार, प्रविधि, औद्योगिक पार्क निर्माणलगायत पनि छलफलका एजेण्डा छन् । चीनमा हिल्सा, अरनिको राजमार्ग, ट्रान्समिशन लाइन, कृषि क्षेत्रको प्रस्तावसमेत रहनेछ। उक्त छलफलपछि केही सहमतिपत्रमा दुवै देशका अधिकारीहरूबीच हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।

द्विपक्षीय भेटवार्तामा नेपाली र चिनियाँ अधिकारी पनि सहभागी छन् । प्रधानमन्त्री प्रचण्डलाई त्यसअघि ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।