मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, २ जना पक्राउ

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, २ जना पक्राउ

 

काठमाडौं । बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ । आज नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो ।

घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।