शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

ओलीको प्रश्नः शेरबहादुर र प्रचण्डले के गरे ?

ओलीको प्रश्नः शेरबहादुर र प्रचण्डले के गरे ?

 

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेर बहादुर पटक–पटक प्रधनमन्त्री भए पनि केही नगरेको बताएका छन् । उनले उनीहरु प्रधानमन्त्री मात्रै भएको तर जनताका लागि केही नगरेको आरोप लगाए ।

उनले भने, ‘उहाँहरुले महिलाका लागि केही गर्नु भो ? शिक्षामा केही गर्नु भो ? उहाँ हरुले केही गर्नु भएन ।’ उनले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको बताए ।

माले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक, महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताए । अशक्त अपंगता भएकाहरुलाई सम्झने एमाले मात्रै भएको भन्दै आफू नेतृत्वको सरकारेले गरेको कामको व्याख्या गरे ।

उनले आफुले गरेको कामले विरोधीहरु आत्तिएको बताए । देशको समस्या समाधान गर्न नसकेर होइन एमाले सँगमात्रै समस्या समाधान गर्ने तागत देखेर विरोधीहरु आत्तीएको दाबी गरे । उनले विरोधीहरुसँग मिलेर कम्युनिष्टको खोल ओडेर बसेकाहरुले छुरा घोपेको बताए ।

प्रचण्ड र माधब नेपालको नामै लिँदै ओलीले एमाले कम्युनिष्ट एकाता जोगाउन लागेको भए पनि कम्युनिष्टहरुको खोल ओडेकाले नेकपा पार्टी फुटाएको आरोप लगाए ।

अहिले कम्युनिष्ट एकता भनेर हिँड्दै छन् ओलीले भने, ‘अब उनीहरुलाई कसैले पत्याउँछ ? दुनियाँमा हल्ला छ अदालतले पार्टी फुटायो भन्ने पार्टी अदालतले होइन प्रचण्ड र माधव नेपालले फुटाएको हो ।’ उनले माधव नेपालको पार्टी फुटोवादी पार्टी भएको भन्दै उनीहरुको भ्रममा नपर्न आग्रह गरे ।