शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बझाङमा भूकम्पः दर्जनौं घर भत्किए

बझाङमा भूकम्पः दर्जनौं घर भत्किए

 

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज मंगलबार दिउँसो भूकम्प गएको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।

३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प जाँदा तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ । ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ’, गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । पहिरोमा परेर २ जना घाइते भएको प्रहरी प्रमुख शाहले बताए । जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको शाहले बताए ।