आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

भेप प्रकरणमाः महरा पुत्र राहुललाई संगठित अपराधमा मुद्दा चलाउन सिफारिस

भेप प्रकरणमाः महरा पुत्र राहुललाई संगठित अपराधमा मुद्दा चलाउन सिफारिस

 

काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीले शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । प्रतिवेदनमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । राहुल सीआईबीको हिरासतमा छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन महरा बाबुछोराले दबाब दिएको आरोप लागेको थियो । कृष्णबहादुर महरालाई भने मुद्दा चलाउन नपर्ने सीआईबीको ठहर छ । सीआईबीले अन्तिम समयमा कृष्णबहादुर महरासँग कागज गरेको थियो ।


सुन रहेको भेप निकालेर उक्त ठाउँमा अरु भेप राखिएको घटनामा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । तर, सुन तस्करीमा भने अनुसन्धान हुन सकेको थिएन । एक चिनियाँ नागरिकले ल्याएको उक्त भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो ।

सामान भन्सारले लिएपछि ती चिनियाँ नागरिक स्वदेश फर्किएका थिए । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गर्नेछ । सुन तस्करी र संगठित अपराधमा अभियोग पत्र दायर गर्ने सरकारी तयारी छ ।