मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

राष्ट्रपतिबाट माफी पाएको महिनादिन नबित्दै महिलाको हत्या

राष्ट्रपतिबाट माफी पाएको महिनादिन नबित्दै महिलाको हत्या

रुपन्देही । संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएको महिनादिन नबित्दै रुकुम पश्चिमका लोकेन्द्र भनिने लोकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।

राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले जिल्लाकै मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षीय भावना विकको हत्या गरेका हुन् ।

उनी बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचना भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि थप आलोचना हुने भएको छ ।

भावनाको हत्यामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलबार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । सो घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको डीएसपी भट्टराईले बताए ।

लोकबहादुर यसअघि बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, उनले ६ महिना कैद भुक्तान गर्दै गर्दा गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा पाएर रिहा भएका थिए ।

भावना र लोकबहादुरको भेट कारागारमै भएको प्रहरीले खुलाएको छ । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

लोकबहादुरले भावनाको हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ । विवाद बढ्दै गएपछि भावनाको छातीमा प्रहार गरेको र उनी लडेपछि चक्कुले गला रेटेको बयान दिएको र चक्कुसमेत साथैमा रहेका कारण हत्या पूर्वयोजनाअनुसार नै भएको देखिएको डीएसपी भट्टराईको भनाइ छ ।

उनका अनुसार उनीहरु २८ गते होटेलको कोठा लिएर बसेको र २९ गते बिहान १० देखि ११ बजेको बीचमा घटना भएको देखिएको छ । लोकबहादुर घटना घटाएर साढे ११ बजेको समयमा होटेलबाट निस्किएर बाल मन्दिर हुँदै कालिकास्थानबाट बाहिरिएको देखिएको प्रहरीले बताएको छ ।

भावनाले होटेलमा कोठा लिएको र त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको तर नम्बर भने लोकबहादुरको राखेको प्रहरी बताउँछ । नाम झूटो लेखे पनि नम्बर भने सही लेखिएकाले भेटाउन सजिलो भएको प्रहरीको भनाइ छ । उनीहरूबीचमा आर्थिक कारोबार रहेको प्रहरीको भनाइ छ ।

भावनाले ‘विवाह गरौ‌’ भनेपछि आफूले घटना घटाएको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यस्तै लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको बताएका छन् ।

घटनास्थलबाट रगत लागेको चक्कु १ थान, घटनास्थल रहेको कोठाको डस्वीनबाट चक्कुको खोल एक थान, होटेलको इन्ट्री किताबमा दर्ता गरिएको नम्बर प्रयोग भएको मोबाइल र प्रतिवादीको घरको कोठाबाट ८५ हजार ८३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पीडित परिवारबाट आएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान चलिरहेको डीएसपी भट्टराईले जनाए ।

उनीहरूबीच गत स्थानीय तह निर्वाचनका क्रममा चिनजान भएको खुलेको छ । २०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनका क्रममा भावना म्यादी भएको र प्रहरी चौकी सिम्लीमा खटिएका बेला उनीहरूबीचमा चिनजान भएको र त्यसपछि सम्बन्ध सुरु भएको प्रहरीले जनाएको छ । म्यादी भएका बेला भावनाले लोकबहादुरको होटेलमा खाना खाने गरेको र त्यसपछि चिनजान भएको थियो ।

मृतककी सासूआमा उजेली कामीले कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा मुद्दा दर्ता गरी प्रतिवादीलाई जिल्ला अदालतबाट स्वीकृति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।