शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्दै

नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्दै

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्ने भएको छ । बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।


यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने पार्टीका पार्टीका नेता एवम खानेपानी मन्त्री महिन्द्रराय यादवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनको भनाई छ ।

यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको नौ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो । माओवादीले पठाएको पत्रलाई लिएर नेसपाभित्र अध्यक्षद्वय भट्टराई र यादवबिच विवाद छ । भट्टराई तत्काल पार्टी एकता गर्ने पक्षमा देखिएका छैनन् भने यादव पूर्व सहमतिबाट पछि हट्न नहुने पक्षमा छन् ।