शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

पूर्व गाउँपालिका अध्यक्षलाई प्रहरीको पेस्तोल पड्काउन मन भएपछि

पूर्व गाउँपालिका अध्यक्षलाई प्रहरीको पेस्तोल पड्काउन मन भएपछि

 

कैलाली । बझाङमा पूर्व गाउँपालिका अध्यक्षलाई पेस्तोल पड्काउन दिने एक प्रहरी निलम्बित भएका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिने असई पुष्कल चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो।

निलम्बित असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पट्काउन दिएका थिए।

करिब १ महिनासम्म घटनाबारे प्रहरी नेतृत्व अनविज्ञ रहेको थियो । जब प्रहरीले यस विषयमा जानकारी पायो तत्काल चन्दलाई निलम्बन गर्‍यो ।

‘पूर्व अध्यक्षको घर नजिकै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उहाँहरूबीच कडै दोस्ती रहेको देखियो’ घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘रमाइलोका लागि असइले पेस्तोल पड्काउन दिए । हामीले थाहा पायौँ उहाँ अहिले निलम्बनमा हुनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरक्षक भरत बहादुर शाहले चन्द तत्काल ६ महिनाको लागि निलम्बनमा परेको जानकारी दिए । चन्दमाथि थप अनुसन्धान हुने र थप कारबाही बारे पछि थाहा हुने डिएसपी शाहले जानकारी दिए ।

प्रहरीको पेस्तोल पड्काउने पूर्व गाउँपालिका अध्यक्ष धामीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।