शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कर्मा कन्ष्ट्रक्सनलाई एक हप्ताभित्र १ करोड बढी बेरुजु दाखिला गर्न सूचना जारी

कर्मा कन्ष्ट्रक्सनलाई एक हप्ताभित्र १ करोड बढी बेरुजु दाखिला गर्न  सूचना जारी

 

ललितपुर । 
ललितपुरको गोदावरी नगरपालिकाले नगरभित्रको निकासी कर उठाउने ठेकेदार कम्पनी कर्मा कन्ष्ट्रक्सनलाई बेरुजु रकम दाखिला गर्न सात दिने सूचना जारी गरेको छ । सात दिनभित्र रकम दाखिला नगरेमा बेरुजु असुल उपर सम्बन्धी कानूनी व्यवस्था बमोजिम कारबाही अगाडि बढ्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

कम्पनी र नगरपालिकाबीच आर्थिक वर्ष २०७७/०७८ मा ढुंगा गिट्टी वालुवा (नदि जन्य/खानी जन्य) निकासी करका लागि भएको सम्झौता बमोजिम राजश्व असुली ठेक्का सम्बन्धमा आ.व. ०७८/७९ मा महालेखा परिक्षकको कार्यालयबाट लेखा परीक्षण हुँदा १ करोड १४ लाख ९२ हजार रुपैयाँ असुल उपर गर्ने भनि बेरुजु कायम भएको थियो । वेरुजु दाखिला गर्नका लागि २०७९ असार ३१ गते पत्राचार गरे पनि हालसम्म बेरुजु रकम दाखिला नभएको भन्दै सूचना निकालिएको नगरपालिकाले जनाएको छ । ‘सात दिनको म्याद दिईएको छ । सात दिनभित्र रकम दाखिला नभए कानूनी उपचारमा गईन्छ । घर जग्गा जायजेठाबाट बेरुजु असुल गरिन्छ ।’, नगरपालिकाका एक अधिकारीले बताए ।  


 ।