शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

शान्ति प्रक्रिया टुंग्याउन लाग्दा सरकारमाथि एकपछि अर्को प्रहार भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

शान्ति प्रक्रिया टुंग्याउन लाग्दा सरकारमाथि एकपछि अर्को प्रहार भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलेका भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भनेर आफूविरुद्ध दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताए । प्रचण्डले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको जिकिरसमेत गरेका छन् । उनले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि पार्टीनिकट पत्रकारलाई आग्रह गरेका छन् ।

उनले भने, ‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ, एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्किंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमूनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ । मैले राष्ट्रको हितमा, जनताको हीतमा हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ । तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरुले सोच्ने, भन्ने र खुला प्रचार गर्नसक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्ने बोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाईबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू, यस्ता अरु पनि थुप्रै, प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।’

प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवारलगायत पीडितहरुलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको उनको भनाइ थियो । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको पनि प्रधानमन्त्रीको दाबी छ ।

उनले थपे, ‘मैले हिजो युद्धका क्रममा शहीद भएका परिवारहरु, बेपत्ता भएका योद्धाका परिवारहरु सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद भयो । तर, एकथरीलाई यो पचिरहेको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु, अवसरवादीको काम हो । हाम्रो काम सच्चाई अघि ल्याउने हो ।’

प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सलबलाएको उनले दाबी गरे ।