शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाता

राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोही बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले बताएको छ ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरेको आयोगले जनाएको छ ।