शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेस बैठकमा मन्त्रीहरुको चर्को आलोचना

कांग्रेस बैठकमा मन्त्रीहरुको चर्को आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको आलोचना भएको छ । बैठकमा नेताहरुले धारणा राख्ने क्रममा सरकारमा गएका मन्त्रीहरुले पार्टीको शीर ठाडो हुने काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

बैठकमा मन्त्रीहरुको कार्यसम्पादनको विषयमा नेताहरुले प्रश्न उठाएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । सुशासनको विषयमा पार्टी गम्भीर ढंगले जानुपर्छ भन्ने नेताहरुले धारणा राखेको उनले सुनाए ।

उनले भने, ‘हरेक दिनजसो नयाँ नयाँ घटना आइरहेका छन् । पुस १६ देखि माघ १६ गतेसम्म समुदायमा कांग्रेस अभियान जाँदैछ । यो अभियान भ्रष्टाचार र सुशासनको विषयमा पार्टीले यो गर्छ भनेर दस्तावेज बनाएर जानुपर्छ भन्ने साथीहरुको धारणा छ ।’

आजको बैठकमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले रिपोर्ट कार्ड पेश गरेका छन् । अरु मन्त्रीहरु मन्त्रिपरिषद् बैठकको लागि निस्किएपछि भोलिको बैठकमा उनीहरुले आफ्नो प्रगति विवरण बुझाउने तयारी गरेका छन् ।