बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

लोकतन्त्रको विकल्प कसैले नसोचे हुन्छः देउवा

लोकतन्त्रको विकल्प कसैले नसोचे हुन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।
सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्रमात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न भने । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

देउवाले भने, ‘सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेद, पार्टीगत वैचारिक मतभेद, प्रतिस्पर्धादेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिस छक्क परेका हुन्छन् । एकअर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ । बीपी कोईरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ ।’

उनले थपे, ‘अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ । अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ । लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’