बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

राष्ट्रियसभा निर्वाचनको सातै प्रदेशको मतपत्र सार्वजनिक

राष्ट्रियसभा निर्वाचनको सातै प्रदेशको मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले आफ्नो वेबसाइटमार्फत वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले प्रदेशअनुसार फरकफरक नमुना पत्र वेबसाइटमार्फत सार्वजनिक गरेको आयोगका उपसचिव एवम सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । उनका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख एवम अध्यक्ष र उपाध्यक्षले रातो रंगको मतपत्रमा मतदान गर्नेछन् भने प्रदेश सभा सदस्यले हरियो रंगको मतपत्रमा मतदान गर्नेछन् ।

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनका लागि मिति तोकिएको छ । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भइसकेको छ छ। आयोगका अनुसार सात वटै प्रदेशमा १९ जना निर्वाचित हुनका लागि कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार चुनावी मैदानमा छन् । कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा पनि छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका आयोगले जनाएको छ ।