बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

स्वास्थ्यमन्त्रीलाई संसदीय समितिले भन्यो, ‘मन्त्रालयको प्रगति लिएर आउनू

स्वास्थ्यमन्त्रीलाई संसदीय समितिले भन्यो, ‘मन्त्रालयको प्रगति लिएर आउनू

काठमाडौं । संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई छलफलका लागि बोलाएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्यमन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो ।

सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरूले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिए । त्यसैगरी बैठकले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखितरूपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सभापति जोशीले भने, ‘हामीले एउटा कुरा त मन्त्रीज्यूलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमति गर्‍यौं । दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरुको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौं ।’

समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूको पहिचान गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बीमा बोर्ड लगायतसँग पनि छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।