शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

लेलेमा २ खानी बन्द, बैध खानीलाई मापदण्ड पालना गरेर चल्न दिने

लेलेमा २ खानी बन्द, बैध खानीलाई मापदण्ड पालना गरेर चल्न दिने

काठमाडौं । 
ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले महादेवखोलामा सञ्चालित ढुंगा खानी खुलाउने सहमती भएको छ । स्थानीयले विभिन्न माग राख्दै विगत १८ दिनदेखि बन्द गरेको खानी हिजो बुधबार भएको एक सहमती अनुसार चल्न दिने भएको छ । 

स्थानीयले संर्घष समिति बनाउदै खानेपानीको मुहानको संरक्षण हुनु पर्ने, खानीबाट निस्किएको माटो व्यवस्थित गर्नु पर्ने, खानीको सिमांकन हुनु पर्ने लगायत विभिन्न माग राख्दै खानी बन्द गरिएको थियो । स्थानीयको ती मागहरु पुरा गर्न खानी सञ्चालक पक्ष तयार भएपछि सहमती भएको हो । संघर्ष समितिका संयोजक निकेश श्रेष्ठका अनुसार सत्य सामुदायिक वन उपभोक्ता समूहको वन र युनाइटेड सिमेन्टका बीच साँध सिमाना निरिक्षण गरीएको थियो । निरीक्षणको क्रममा युनाइटेड सिमेन्ट र विनायक कम्पनीले सञ्चालन गरेको दुई ओटा खानी बन्द भएको संघर्ष समितिका संयोजक श्रेष्ठको दाबी छ । खानीको संघर्ष समितिले नियमित निरीक्षण गरिरहने उनले बताए । 

खानी बन्द हुँदा युनाइटेडको ढुंगा ढुवानी गर्ने स्थानीय व्यवसायीहरु प्रत्यक्ष मारमा परेका थिए । स्थानीयले बन्द गर्नु अघि २ महिनादेखि खानी बन्द हुँदा स्थानीय व्यवसायीहरुले आफ्ना सवारी चलाउन पाएका थिएनन् । त्यसअवधिमा बैंकको ऋणको किस्ता तिर्न नसकेर बैंकले तारन्तार चिट्ठी काट्दै र फोन गरेर हैरान बनाईरहेको एक स्थानीय व्यवसायीले बताए । 

वडा कार्यालयको रोहबरमा भएको निरीक्षणसहित सहमतीमा खानीबाट निस्केको माटो चाँडै व्यवस्थापन गर्नुपर्ने, खानेपानीको मुहान संरक्षणका लागि प्राविधिक सर्भे गर्नु पर्ने, सवारी साधनलाई टाईम कार्ड लागु गर्नु पर्ने, ढुंगा खानीका कारण खानेपानी धमिलो आएमा खानी बन्द गर्ने लगायत बुँदाहरु समेटिएको छ ।  

सरकारले त्यसक्षेत्रमा युनाइटेड सिमेन्टलाई चुनढुंगा उत्पादनका लागि २०७४ मा १० वर्षका लागि ४ दशमलब ७५ हेक्टर वन दिएको थियो । भने युनाइटेड सिमेन्टले त्यसबापत सरकारको नाममा मकवानपुरस्थित राक्सीराङमा सोही क्षेत्रफलको जग्गा दिएको थियो । त्यस्तै विनायक कम्पनीलाई आफनो आवादी जग्गामा वनको ढुंगा खसेपछि डिभिजन वन कार्यालय ललितपुरले मुल्यांकन गरी राजश्व दाखिला गर्न लगाई ढुंगा निकासीका लागि छोड पुर्जी दिईएको थियो ।