शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अधिकृत कुट्ने प्रहरीलाई ३ दिनभित्र कारबाही नगरे देशब्यापी हड्ताल गर्ने

अधिकृत कुट्ने प्रहरीलाई ३ दिनभित्र कारबाही नगरे देशब्यापी हड्ताल गर्ने

काठमाडौं । निजामती कर्मचारीसम्वद्ध विभिन्न ट्रेड युनियन संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै विभिन्न संगठनले कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मन्चले आइतबार गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आफ्ना माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने उल्लेख छ । शुक्रबार दिउँसो प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेका थिए । मोक्तानले शरीरको खानतलासी गर्न आनाकानी गरे गरेको प्रहरीको भनाइ छ ।