शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेसको महासमिति बैठक आजबाट सुरु

कांग्रेसको महासमिति बैठक आजबाट सुरु

 

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदैछ । फागुन १० गतेसम्म चल्ने महासमिति बैठकले पार्टीको नीति निर्माण तय गर्नेछ ।

बैठक दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले बताए ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै प्रवक्ता डा प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुने प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्माले बताए ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५, महासमिति सदस्यहरू १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्थाहरूबाट ६९ जना सहभागी हुनेछन् ।

यस्तै महासमिति सदस्य नरहेको प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू पनि बैठकमा सहभागी हुनेछन् ।