बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

संघीय निजामती विधेयक संसदको चालु अधिवेशनमै पेश हुन्छः प्रधानमन्त्री

संघीय निजामती विधेयक संसदको चालु अधिवेशनमै पेश हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा र सार्वजनिक खरिद ऐन संशोधन सम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने दाबी गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले साझा अधिकार सूची सम्बन्धी कानून तर्जुमा उच्च प्राथमिकतामा रहेको बताउँदै संघीयता कार्यान्वयसँग सम्बन्धित अन्य कानुनहरुको तर्जुमा गर्ने कार्य ठोस कार्ययोजनाका साथ अगाडि बढेको बताएका छन् ।

‘राष्ट्रिय शिक्षा विधेयक संघीय संसदमा विचाराधीन छ र संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा प्रस्तुत गर्ने तयारीमा छौं,’ उनले बैठकमा भने ।

विगत चार वर्षदेखि बस्न नसकेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तर सम्बन्ध) ऐन बमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसको स्मरण गराए । ‘सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा भएका विभिन्न निर्णयहरू कार्यान्वयन भैरहेका छन्,’ उनले भने,‘ संघीयता कार्यान्वयनलाई सहजीकरण र मार्ग निर्देशन गर्न अधिकार सूचीको विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्न विषयगत समिति गठन भएर परिमार्जनको कार्य अन्तिम चरणमा पुगेको छ ।’