बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कांग्रेसलाई प्रचण्डको जवाफः आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

कांग्रेसलाई प्रचण्डको जवाफः आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।

‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, प्रचण्डले भने, ‘‘राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’

आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे । नेपाली कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेको थियो ।

‘म संसदमा भएको कुनै पनि दलसँग अविश्वास आशंका र घृणा होइन । हामी फेरि पनि राष्ट्रिय इस्यूमा मिलेर अघि बढ्नुपर्छ’, उनले भने ।
कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको र कांग्रेस नेताहरुसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको प्रधानमन्त्री प्रचण्डले बताए । तर राजनीतिमा व्यक्तिगत सम्बन्धको ठूलो अर्थ नहुने उनले बताए ।

कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेको प्रचण्डले बताए । ‘औसत उपलब्धीको आत्मरितको पिँजडामा म रमाउने अवस्थामा थिइनँ, र अहिले पनि छैन’, उनले भने ‘एक वर्ष कार्यकाल पूरा गर्दा साथीहरुले व्यक्तिहरुको रुपमा त मलाइ माया गर्नुभयो परिवर्तन र सुशासनको पक्षमा जति न्याय गर्नुपथ्र्यो त्यति गर्नुभयो ।’

सरकारको गतिबाट आफू असन्तुष्ट भएको कुरा धेरै पहिलेदेखि भने पनि कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्रीको आशय थियो । ‘औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्य अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा मैले दोस्रो विकल्प रोजेँ’, प्रचण्डले भने ।