बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिदै कार्यदल

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिदै कार्यदल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक विहीबार पनि बसेको थियो । सो बैठकपछि कार्यदल सदस्यहरुले नीति तथा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने बताएका थिए ।

कार्यदलका एक सदस्य एवम् एकीकृत समाजवादीका नेता प्रमेश हमालले विहीबारको बैठकमा कार्यदलको मस्यौदाको ड्राफ्ट सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको र शुक्रबार थप सुझावसहित अन्तिमा रुप दिने बताएका छन् । त्यसपछि शीर्ष तहमा पेस हुने र उनीहरुको निर्देशन अनुसार आवश्यक संशोधन हुन सक्ने नेताहरुको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गत फागुन २७ गते सत्ता गठबन्धनका दलहरुले १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २÷२ जना सदस्यहरु छन् ।