सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन
![सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/CIB_nepal_yla6Qq5Bm9_tsqxp4pkpvqbk15nxq1hafbkpwhoxp7swjmlq6ddjagssyswoc2oa7rxqdho_Ucv3QtGq2P_2hhuqmqmsxfpgqll1wbm847stfli8vnadqkxraofu2csi0lhfbpwzhf45evp_vYxc1Wgadd_rmuv8jyb3tdlezap5bhy00moefprxon4nnjsimmzfq0ykckvfimu6xbwsblw_C1fIgWxjuy_jwz8auefxwlz1kansvxismyt2bpdgqb0logdrzdkrcakfenfhdxfx94pbbxw_Da49uTWdvc_6wh2tvnvjd5mqyqoiccyp5pncra59bycmyh5odsa8qsk1xjpba3brujwek2j_cUTuW2PODn_8remlwjv79g3rnsp5gimtczz3rl7fcmofqiuuxlwmxmsiryiedtyo4knetwi.jpg)
काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।
आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन हुन बाँकी नै रहेको ज्ञवालीले बताए । ‘अहिलेसम्म मिडियामा आएका विषय बाहेक औपचारिक रुपमा हामीलाई कुनै जानकारी आएको थिएन । बल्ल प्रतिवेदन हात परेको छ । अब अध्ययन गरेपछि सम्बधीत व्यक्तिमाथि कारबाही अघि बढ्छ,’ उनले भने ।
विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया