बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

स्वचालित हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड प्रहरी वृत्त सिंहदरबारमा

स्वचालित हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड प्रहरी वृत्त सिंहदरबारमा

काठमाडौं । सर्वोच्च अदालतबाट स्वचालित हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार हो? होइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताए । अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुनेरनहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ ।

सोमबार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको थियो ।

मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुबाट मेड इन जर्मन जिएसजी–५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउण्ड बरामद भएको थियो ।