बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नयाँ समीकरणलाई वामपन्थी गठबन्धनका रूपमा नबुझौंः महासचिव पोखरेल

नयाँ समीकरणलाई वामपन्थी गठबन्धनका रूपमा नबुझौंः महासचिव पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरेका छन् । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा भएको उनको प्रष्टोक्ति छ ।

‘अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन । यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ । यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका दलहरूको सहकार्य हो । हामीले जे हो त्यही रूपमा बुझ्नुपर्छ । यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्देलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।’

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यही हप्ता प्रदेशमा नयाँ समीकरणअनुसारको सरकार गठन हुने बताएका छन् । पोखरेलले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविकरूपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरू हुने बताएका हुन् । गठबन्धनमा सहभागी दलबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने उनले सुनाए ।

महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने दोहोर्‍याए । नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माण रहेको उनको भनाइ छ । अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको भन्दै उनले

उनले भने, ‘हामी यतिबेला सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने प्रकारको जिज्ञासा छ । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ । अहिले हामीले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छौं । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन ।