शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

घुस लिएको मुद्धामा डीएसपी ठगबहादुर दोषी ठहर

घुस लिएको मुद्धामा डीएसपी ठगबहादुर दोषी ठहर

काठमाडौं । घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो । 

अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो ।