बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

आयोगले तोक्यो इलाम–२ मा मुख्य निर्वाचन अधिकृत

आयोगले तोक्यो इलाम–२ मा मुख्य निर्वाचन अधिकृत

इलाम । निर्वाचन आयोगले इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।

निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।

निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।