बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

एमाले ललितपुरको नवौं जिल्ला अधिवेशन आज

एमाले ललितपुरको नवौं जिल्ला अधिवेशन आज

ललितपुर। नेकपा (एमाले) ललितपुरको नवौं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको शुभारम्भ गर्दैछन् ।

जिल्लाको नेतृत्वका लागि तीन जना नेताले उम्मेदवारी दिने भएका छन् । अधिवेशनमा वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिने भएका हुन् ।

अधिल्लो अधिवेशनमा सञ्जेल र आचार्यले नेतृत्वको दाबी गरेका थिए । तर सर्वसम्मतीपछि आचार्य अध्यक्षमा चयन भएका थिए । यो पल्ट समेत आचार्यले नेतृत्वमा आकाक्षा राखेपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुनसक्ने नेता कार्यकर्ताबीच चर्चा छ ।

नेता कार्कीले जिल्लाका नेताहरूको सल्लाहमा उम्मेदवारी दिने योजना बनाएको बताएका छन् । आचार्यले भने पार्टीलाई थप बलियो बनाउन आफूले उम्मेदवारी दिने कार्ययोजना बनाएको बताए ।

महाधिवेशनमा जिल्लाभरिका करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचन समितिले विद्युतीय मतदानको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।
अधिवेसनको उद्घाटनका दिन आज स्वास्थ्य उपसमितिले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत राखेको छ । आज साँझ ५ बजेबाट ७ बजेसम्म र २४ गते विहान ८ बजेबाट दिउँसो ३ बजेसम्म बन्द सत्र चल्नेछ ।

अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधी , लेखा समिती , सल्लाहकार समिती, मनोनित गरी करिब ५ सय जना प्रतिनिधी चयन गरिएको छ । जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौं पुर्ण बैठकले जिल्लाको नवौ अधिवेशन गर्ने निर्णय गरेको थियो ।
अधिवेशनका लागि जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको थियो ।