शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

पोखरा महानगरपालिकाकी सब–इन्जिनियरसहित दुई जना घुससहित रंगेहात पक्राउ

पोखरा महानगरपालिकाकी सब–इन्जिनियरसहित दुई जना घुससहित रंगेहात पक्राउ

 

पोखरा । सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उनले पोखरा महानगरपालिका वडा नम्बर १० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ का सदस्य प्रकाश कोईरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए ।

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एक जना महानगरपालिकाकै कर्मचारी अर्का एक जना भने बाहिरको व्यक्ति भएको बताइएको छ ।