शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

जनकपुरधाम । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत रौतहटले आज उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।

सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।

स्रेस्तेदार ढोडारीका अनुसार मो। अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । सहनी ईटा भट्टाका मुनसी थिए ।

यस्तै, आरोपी मुक्ति शाहले सफाइ पाएका छन् । शाह पनि ईटाभट्टामै कार्यरत थिए । आरोपी ६ जनाको हकमा फैसला सुनाइएन । स्रेस्तेदार ढोडारीले ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताए ।

४ जनालाई जन्मकैद, एकजना सफाई, ६ जना मुलतवीमा राखिएको उनले बताए ।