बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

ठेकेदारको लापरबाहीले कान्तिलोकपथ सडक भासिएर ठप्प

ठेकेदारको लापरबाहीले कान्तिलोकपथ सडक भासिएर ठप्प

ललितपुर । काठमाडौं–हेटौँडा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ ठेकेदारको लापरबाहीका कारण ठप्प भएको छ । सडक चौडा गर्ने क्रममा जथाभावी गर्दा सडक भासिएको हो ।  ललितपुरको काल्चेमा सडक भासिएको  कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए। स्थानीयका अनुसार सडक चौडा गर्ने स्थानमा तार जालीको वाल थियो । ‘सडकको ट्रयाक जाली वाल माथि थियो । सडकको भित्ता खन्दा जाली माथि माटो भरेर स्लोप बनाएर भित्ता खन्न आग्रह गर्दा नमानी मनोमानी गरेको कारण तार जाली वाल फुटेर सडक भासियो । अहिले सडक ट्रयाक नै छैन ।’, ती स्थानीयले बताए । उनका अनुसार सडक खन्ने स्काभेटर चालक दक्ष नभएकोले गर्दा पनि सडकको हालत खराब बनाएको हो । 

काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्णरूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा गाडी सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म यो सडक बन्द रहने इन्जिनियर महर्जनले  बताए।

उक्त कार्य डिसी डिआर जेभीले गरिरहेको छ । दुई वटा स्काभेटर लगाएपनि अझै सम्म त्यो सडक भासिएको स्थानमा स्काभेटर पुग्न सकेको छैन । निर्माण कम्पनीको असक्षमता र लापरबाहीका कारण त्यसस्थानबाट यात्रा गर्ने हजारौँ यात्रुले सास्ती बेहोर्नु परेको छ । 

ललितपुर जिल्ला प्रशासन कार्यालयले २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको यो सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै गाडी आवतजावतका लागि खुला गरिएको थियो ।