मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सामुदायिक वनको साधारण भेलामा मन्तव्य राख्दै गर्दा लखेटिए जिल्ला अध्यक्ष घिमिरे

सामुदायिक वनको साधारण भेलामा मन्तव्य राख्दै गर्दा लखेटिए जिल्ला अध्यक्ष घिमिरे

ललितपुर । 
ललितपुरको एक सामुदायिक वन उपभोक्ता समूहको साधारण भेलामा अतिथिको रुपमा मन्तव्य राख्दै गर्दा मन्तव्य नसकिँदै सामुदायिक वन उपभोक्ता महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिमिरे लखेटिएका छन् । उनले मन्तव्य राख्ने क्रममा केही उपभोक्तालाई लक्षित गर्दै विवादास्पद र एक पक्षिय रुपमा प्रस्तुत भएपछि उपभोक्ताहरुले  मन्तव्यकै क्रममा विरोध जनाएका थिए । उपभोक्ताको  निरन्तर सवाल जवाफको सामना गर्न नसकेपछि उनी आफ्नो मन्तव्यलाई बीचमै रोकेर आफू अर्काे कार्यक्रममा जानु पर्ने भन्दै बहानाबाजी गरेर भाग्नु परेको थियो । 

आज मंगलबार गोदावरी नगरपालिका–६ स्थित दम्सीडोल सामुदायिक वन उपभोक्ता समूहको साधारण भेला राखिएको थियो । ‘भेलाका क्रममा अतिथिको रुपमा आएपछि शुभकामना दिने, सल्लाह सुझाब दिने, आफ्ना भोगाई र नीतिगत रुपमा सहयोग रहने कुरा राख्नु पर्नेमा समूहको विरुद्धमा लागेको भन्दै भड्किला शब्दमार्फत उपभोक्तालाई होच्याएर बोल्नु भो ।’, भेलामा उपस्थित एक सदस्यले बताए । ‘समूहको आन्तरिक कुरामा प्रवेश गरेर केही उपभोक्तालाई लक्षित गरेर बोलेपछि माहोल बिग्रियो । मन्तव्य विच बाटै उहाँ निस्केर भाग्नु परेको थियो । महासंघ जस्तो संस्थाको अध्यक्षले आफ्नो पदिय गरिमालाई जोगाउनु भएन । उहाँ पक्षपातमा उभिनु भो । उहाँ लखेटिनु परेको हो ।’, ती सदस्यले बताए ।

विवादास्पद पृष्ठभूमिका अध्यक्ष घिमिरेको यो पहिलो घटना भने होइन । महासंघ भित्र पनि उनले गरेका गतिविधिमा कार्यसमितिले, स्थानिय समितिहरुका पदाधिकारीले असन्तुष्टी जनाईरहेको छ ।