शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

‘लाइट स्टोन’ देखाएर १० लाख ठगी, ३ जना पक्राउ

‘लाइट स्टोन’ देखाएर १० लाख ठगी, ३ जना पक्राउ

भक्तपुर । ‘लाइट स्टोन’ देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–६ घर भई चन्द्रागिरी बस्‍ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका(३ घर भई सितापाइला बस्‍ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोटकै दुप्तेश्वर नगरपालिका–५ घर भई हाल दधिकोट बस्‍ने ३३ वर्षीय सुनिल तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४ वटा विभिन्‍न सकम्पनीका मोबाइल, विभिन्न बैंकको चेकबुक बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत भक्तपुरमा पठाइएको छ । 

उनीहरूले जेठ २१ गते काठमाडौं नरेफाँट बस्‍ने भिमबहादुर कार्कीलाई आफूहरूसँग लाइट स्टोन रहेको भन्‍दै १० लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ ।