शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरू भएको छ ।

मंगलबार बसेको बैठकमा बजेटको विभिन्न शीर्षकहरू अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो । छलफलका क्रममा सांसदहरूले विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

खर्च कटौतीको प्रस्ताव गर्दै सांसद बद्रीप्रसाद पाण्डेले नीति तथा कार्यक्रम र बजेटको तालमेल मिल्न नसकेको बताए । ठूला नेता र उच्च पदस्थ कर्मचारीको क्षेत्रमा मात्रै बजेट बढी जाने देखिएको र बजेटका सन्तुलन मिल्न नसकेको उनको भनाइ छ ।

भोट माग्ने क्रममा जनतासमक्ष विभिन्न प्रतिवद्धता गरेपनि बजेट बनाउने क्रममा आफ्ना मागप्रति भने बेवास्ता गर्ने गरेको उहाले बताउनुभयो ।

त्यस्तै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद अमरेशकुमार सिंहले शिक्षामा ठूलो बजेट विनियोजन भएपनि शिक्षक र विद्यार्थीको अनुपात मिल्न नसकेको बताए । विद्यालय व्यवस्थापन समितिले लुट्ने काम मात्रै गरेकाले समिति खारेज गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । सिंहले अहिले देशमा जो सुकै आएपनि शिक्षा क्षेत्रको सुधार गर्न नसक्ने अवस्थामा पुराइसकेको उनको तर्क थियो ।

विभिन्न शीर्षकमाथिको छलफलपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र आगामी असार ७ गते बजेट पारित गर्ने संसद सचिवालयको तयारी छ । संसदमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।