मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

कांग्रेसभित्रै घात-अन्तर्घात हुने डरले अरुसँग गठबन्धन गर्नु परिरहेको छः शेखर

कांग्रेसभित्रै घात-अन्तर्घात हुने डरले अरुसँग गठबन्धन गर्नु परिरहेको छः शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसबीचमै सबै एक भए अन्य राजनीतिक दलले चुनाव हराउन नसक्ने जिकिर गरेका छन् ।

बिहीबार काठमाडौंमा नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलबीच गठबन्धन हुने गरेको भएपनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने बताए ।

कोइरालाले भने, ‘घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौं । नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौं । हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन ।’

महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको भन्दै उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा प्राथमिकता दिएर अध्यक्षमा धेरै सीट दिन जरुरी रहेको उनको भनाइ छ ।