आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

ठगीको मुद्दा लागेपछि फरार लालीगुराँस सहकारीका अध्यक्ष र सीईओसहित ४ जना पक्राउ

ठगीको मुद्दा लागेपछि फरार लालीगुराँस सहकारीका अध्यक्ष र सीईओसहित ४ जना पक्राउ

 

नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान छन्।

ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीले सर्वसाधारणलाई आकर्षक ब्याज र चाहिएको बेला रकम झिक्न दिने भनी सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको प्रहरीको आरोप छ। 

साथै बचतकर्ताको निक्षेप समेत अपचलन गरी ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध गत चैत १ मा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी मुद्दा दर्ता भएको थियो। सोसँगै प्रहरीले अनुसन्धान सुरु गरेपछि चारै जना फरार थिए।

गत शुक्रबार उनीहरुलाई पक्राउ गरेर प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।  लालीगुराँस सहकारीमा २२ हजार जना बचतकर्ताले पैसा जम्मा गरेका छन्। सबै बचतकर्ताको कुल ६ अर्ब ३० करोड यो सहकारीमा बचत छ।