आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुन्छः गगन थापा

नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस(एमालेबीच भएको सहमति सार्वजनिक हुने बताएका हुन् ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए ।

उनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए ।

त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने धारणा राखे ।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने जिकिर गरे ।