आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

पूर्वराज्यमन्त्री रायको हत्याको घटनाको निष्कर्षतिर प्रहरी

पूर्वराज्यमन्त्री रायको हत्याको घटनाको निष्कर्षतिर प्रहरी

 

काठमाडौं । सर्लाहीमा भएको पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवक संलग्न भएको निष्कर्षतर्फ प्रहरी पुगेको छ ।

चन्द्रनगर गाउँपालिका–१ स्थित ‘फार्म हाउस’मा हत्या गरिएको अवस्थामा रायको शव सोमबार बिहान भेटिएको थियो । काठमाडौंमा बस्दै आएका राय खेतीको कामका लागि गाउँ पुगेका थिए । घटनापछि प्रहरीले रायको सहयोगीका रुपमा काम गर्दै आएका २१ वर्षीय रामउजैन रायलाई नियन्त्रणमा लिएको थियो ।

‘अहिलेसम्मको अनुसन्धानबाट तीनै युवकले रायको हत्या गरेको देखिन्छ । सामान्य गाली गरेको निहुँमा उनले उखु काट्ने हतियारले सुतिरहेको अवस्थामा रायको टाउकोमा हानेर हत्या गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

यसअघि ती युवकले राति ३ जना युवक आएको र उनीहरुले रायसँग कुराकानी गरिरहेका बेला आफू सुत्न गएको प्रारम्भिक बयान दिएका थिए । घटनाबारे आफूले चाल नपाएको उनको भनाइ थियो ।

प्रहरीले ती युवकले झूटो बयान दिएको र घरमा त्यस दिन कोही नआएको निष्कर्ष निकालेको छ । ‘अझै केही कुरा क्लियर गर्न बाँकी छ । अहिलेसम्मको अनुसन्धानमा ती युवक नै घटनामा संलग्न रहेको देखिन्छ’, ती अधिकारीले भने ।

प्रहरीका अनुसार २१ वर्षीय युवक विगतमा काठमाडौंस्थित रायको घरमा रहेर सहयोगीको काम गरेका थिए । विगत डेढ दुई महिनायता फेरि उनी रायको सहयोगी बनेर चन्द्रपुरस्थित फार्म हाउसमा काम गर्न आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।