आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

 

काठमाडौं । सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो ।

मुख्य सचिव डा वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उनी निलम्बनमा छन् । अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर पठाइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निमित्त मुख्य सचिवको नेतृत्वको दिएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वरिष्ठताको आधारमा लीलादेवीलाई कामुको जिम्मेवारी दिइएको हो ।

२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी उनी आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाशमा जानेछिन् । त्यसैले अब गड्तौलाले करिब ३५ दिन मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछिन् । नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पनि गड्तौलाले नै पाएकी हुन् ।