मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सभापतिहरुसँग सभामुखः विचाराधीन विधेयक टुंगो लगाउन तदारुकता देखाउनुहोस्

सभापतिहरुसँग सभामुखः विचाराधीन विधेयक टुंगो लगाउन तदारुकता देखाउनुहोस्

 

काठमाडौं । सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकको विषयमा संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् । संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले सभापतिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।

संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताउँदै उनले संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर हुने बताए ।

उनले भने, ‘अहिले संसदमा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद चलाउन सकिँदैन । संसदलाई बिजनेस दिने वातावरण तयार गर्नहोस् । समिति सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार छ । समितिमा विचाराधीन रहेका विधेयकहरु टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस् ।’

छलफलमा सभापतिहरुले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।

उनले भने, ‘संसद सकिनेबित्तिकै सांसदहरु गृहजिल्ला जाने हुँदा समितिको बैठक बस्न सकेन । अब एक दिन संसद, एक दिन समिति चलाउने व्यवस्था मिलाउनुपर्‍यो । समितिमा धेरै विधेयक छन्, तर जटिल प्रकृतिका छन् । कतिपय विधेयकमा राजनीतिक समिति चाहिएको छ । सभामुखबाट सहजीकरण हुने अपेक्षा गर्दछु ।’

सांसद विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको बताइन् । एकदुई विषयमा राजनीतिक सहमति भए टुंगिने उनको भनाइ छ ।

सांसद अम्मरबहादुर थापाले शिक्षा विधेयकमा धेरै संशोधन भएको बताउँदै टुंगोमा पु¥याउन जनशक्तिको अभाव भएको बताए ।

बैठकमा सभापतिहरु रामहरि खतिवडा, विमला सुवेदी, अम्मरबहादुर थापा, अब्दुल खान, किरणकुमार साह, दीपकबहादुर सिंह सहभागी थिए ।