मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्, तर सफल हुन दिइन्नः प्रम ओली

प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्, तर सफल हुन दिइन्नः प्रम ओली


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले प्रचण्ड आक्रोशित हुने स्वाभाविक भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘प्रचण्ड सत्ताबाट बाहिरिनुभएको छ, विगत ९ वर्षदेखि सरकारमा भएको र एक्कासि बाहिरिनुपरेको पीडा, आक्रोश उत्तेजना पोख्नुभएको छ । उहाँले उठाएको विषयमा बैठकमा अध्यक्षले ध्यानाकर्षण गराउनुभएको छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेको बताए ।

उनले भने, ‘उहाँले समाजमा बढेको अराजकता र सरकारको कामबारे ब्रिफिङ गराउनुभएको छ । त्यसबारे भोलि बैठक सकिएपछि हामीले त्यसमा पार्टीको धारणा ल्याउँछौं ।’

बैठकमा ब्रिफिङ गर्दै ओलीले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए । उनले सरकारको अहिलेसम्मको कामको बारेमा ब्रिफिङ गर्दै कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

बैठकमा अध्यक्ष ओलीले कांग्रेस र आफ्नोबीचमा कुनै असमझदारी नरहेको र सत्ता सहकार्य सहमतिबमोजिम नै अघि बढ्ने बताएको पोलिटव्युरो सदस्य आनन्द पोखरेलले बताए ।

एमाले र अहिलेको सरकारविरुद्ध चौतर्फी घेराबन्दीको प्रयत्न भइरहेकाले पार्टीले एक ढिक्का भएर त्यस्ता गलत प्रयासको प्रतिवाद गर्नुपर्ने धारणा अध्यक्षले राखेको पोखरेलले जानकारी दिए ।

एमालेले आगामी २०८४ को निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा छ । बैठकमा ओलीले आगामी चुनावमा एकल प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

एमालेको अभियानबारे प्रचार विभाग प्रमुख गौतमले थपे, ‘एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि पार्टीले फोकस गरेको छ । बलियो शक्ति बनाउन नेतृत्व विकास गर्ने, स्थानीय तहसम्म जनसंगठन सुदृढीकरण र विस्तार र नयाँ पुस्तालाई पार्टीको काममा जोड्ने काम निरन्तर हुन्छ ।’

बैठकले पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण(पत्र, त्यसपछि झुलाघाट(चिवा भञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्न प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएकोसमेत उनले बताए ।